लिटिल फ्लावर प्रिमियर लिग सुरु, सत्यवती एकेडेमीसँग आयोजक ७३ रनले पराजित
2022/02/14, 9:35
 
dd

कैलालीको धनगढीमा अन्डर–१९ विद्यालयस्तरीय धनगढी मेयर लिटिल फ्लावर प्रिमियर लिग टी–ट्वान्टी प्रतियोगिताको छैटौँ संस्करण आजदेखि सुरु भएको छ । संघीय प्रहरीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा अत्तरियाको सत्यवती एकेडेमीले आयोजक धनगढीको लिटिल फ्लावरलाई ७३ रनले पराजित गर्‍यो ।

खेलमा सत्यवती एकेडेमीले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा लिटिल फ्लावरले पूरै २० ओभर ब्याटिङ गरे पनि आठ विकेट क्षतिमा १२४ रन मात्र बनाउन सक्यो । लिटिल फ्लावरको ब्याटिङमा कप्तान बिपिन रावलले सर्वाधिक ६२ रन बनाए । उनले ४५ बलमा आठ चौका र दुई छक्का प्रहार गरे । यस्तै नरेन भट्टले २८ रन बनाए । सत्यवती एकेडेमीका बलर निरज भट्ट र युवराज खत्रीले समान दुई विकेट लिए भने सन्तोष कार्की, सन्दीप खत्री र सुजन गौतमले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सत्यजित एकेडेमीले निर्धारित २० ओभरमा आठ विकेट क्षतिमा १९७ रन बनाएको थियो । सत्यवती एकेडेमीका लागि सन्दीप खत्रीले सर्वाधिक ६६ रन बनाए । उनले २९ बलमा दुई चौका र सात छक्का प्रहार गरेका थिए । यस्तै सन्तोष कार्कीले ३३ रन, खगेन्द्र जोशीले ३२ रन तथा आदिल अन्सारीले ३० रन योगदान दिए । लिटिल फ्लावरका बलर प्रकाश जैसी, अनुराग सिंह र सुवास ऐरले समान दुई विकेट लिए ।

खेलको ‘प्लेयर अफ दी म्याच’ सन्दीप खत्री घोषित भए । प्रतियोगिताअन्तर्गत मङ्गलबार दुई खेल हुनेछन् । बिहान ९ः३० बजे हुने पहिलो खेलमा होलिल्यान्ड इङलिस बोर्डिङ स्कुल र एभरेष्ट एकेडेमीले तथा दिउँसो १ः३० बजे गुरुकुल इङलिस मिडियम स्कुल र स्टेपिङ इङलिस स्कुलले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।