धनगढी मेयर एलपीएलः एभरेस्ट एकेडेमी र गुरुकुल इङ्लिस स्कुल विजयी
2022/02/15, 8:51
 
dd

 धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु-१९ विद्यालय स्तरीय टि-ट्वान्टी प्रतियोगिताको दोश्रो दिनको खेलमा एभरेस्ट एकेडेमी अत्तरिया र गुरुकुल इङ्लिस स्कुल लम्कीले जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा एभरेस्ट एकेडेमी अत्तरियाले होलिल्याण्ड इङ्लिस स्कुल अत्तरियालाई ९ विकेटले पराजित गर्यो। धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न खेलमा होलिल्याण्डले दिएको ६३ रनको लक्ष्य एभरेस्टले ७.५ ओभरमा १ विकेटको क्षतिमा भेटायो । एभरेस्टको ब्याटिङमा योगेश भाटले सर्वाधिक ४२ रन बनाए । सन्दिप बिस्टले १२ रन बनाए।

यस अघि टस जितेर ब्याटिङ गरेको होलिल्याण्डले १०.६ ओभरमा ६२ रनमा सम्पूर्ण विकेट गुमाएको थियो। होलिल्याण्डको लागि सन्दिप औजीले १६ तथा अभिषेक पालले १२ रन योगदान दिए।  एभरेस्ट एकेडेमीका लेग स्पिनर कृष ऐरले सर्वाधिक ५ विकेट लिए जुन क्रममा ३ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ११ रन मात्र खर्चिए । यस्तै गोविन्द बिस्टले दुई तथा दिपक रोकायाले एक विकेट लिए।

खेलको प्लेयर अफ द म्याच एभरेस्ट एकेडेमीका कृष ऐर घोषित भए जसले दुई हजार रुपैयाँ प्राप्त गरे।

आजै सम्पन्न दोश्रो खेलमा गुरुकुल इङ्लिस स्कुल, लम्कीले स्टेपिङ स्टोन स्कुल धनगढीलाई पराजित गर्यो।  गुरुकुलले दिएको १८६ रनको लक्ष्य पछ्याएको स्टेपिङ स्टोनले १५.५ ओभर ५६ रनमा सम्पूर्ण विकेट गुमायो। स्टेपिङ स्टोनको लागि अभिषेक कुँवरले सर्वाधिक ११ रन बनाए। गुरुकुलका बलर समिर रानाले तिन विकेट लिए भने बसिर एहमद र विशाल केसीले समान दुई विकेट लिए।

यस अघि टस हारेर ब्याटिङ गरेको गुरुकुल स्कुलले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८५ रन बनाएको थियो। गुरुकुलको ब्याटिङमा अन्डर-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका बशिर एहमदले २९ बलमा १ चौका र ३ छक्काको मद्दतमा ४१ रन बनाए ।

यस्तै य-१९ राष्ट्रिय टिमका कप्तान समेत रहेका देव खनानले ३९ र विशाल विक्रम केसीले ३७ रन बनाए। दिनेश अधिकारीले १६ र कृष कार्कीले १५ रनको योगदान दिए। स्टेपिङ स्टोनका बलर सागर भण्डारीले दुई विकेट तथा अभिषेक कुँवर, विरेन्द्र चन्द र दिनेश ओडले एक एक विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बशिर एहमद घोषित भए जसले दुई हजार रुपैयाँ प्राप्त गरे।

प्रतियोगिता अन्तर्गत बुधबार पनि दुई खेल सञ्चालन हुनेछन् ।