धानमा क्षति भोगेका किसानलाई राहत रकम हस्तान्तरण शुरू
2022/07/02, 9:48
 
dd

गत वर्ष कात्तिक महिनामा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ । गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरूप राहत रकम पाइरहेका छन् ।

प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण शुरू गरेको छ । तयारी धानबाली भित्र्याउने बेला गत वर्ष असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित बनेका किसानलाई क्षतिको आधारमा राहत रकम दिन शुरू भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले बताए ।

‘भजनीमा १० हजार किसानको धानबाली नोक्सानी भएको छ । किसानलाई क्षतिका आधारमा राहत दिन थालिएको छ,’ उनले भने, ‘क्षतिका आधारमा प्रदेश सरकारले राहत उपलब्ध गराएको छ । किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा ३१५, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई १२५, र ६० कट्ठाभन्दा माथि क्षति भएका किसानलाई ७५ प्रति कट्ठा रकम वितरण थालिएको छ ।’

एक किसानलाई ५५ हजार रुपैयाँभन्दा बढी नहुने गरी राहत रकम उपलब्ध गराइरहेको नगरपालिकाले जनाएको छ । ‘मापदण्डअनुसार दिन थालिएको छ । यो राहत रकम हो,’ चौधरीले भने, ‘किसानलाई यो रकमले खेती गर्ने समयमा थोरै राहत हुन्छ ।’

राहतका लागि भजनी नगरपालिकामा प्रदेश सरकारबाट २ करोड ९२ लाख रुपैयाँ आएको छ । राहत रकम किसानलाई बैंकमार्फत वितरण थालिएको छ । वडा नम्बर १ देखि ९ सम्मका पीडित सबै किसानलाई पायक पर्ने बंैकमा खाता खुलाइ बैंकमार्फत वितरण भइरहेको छ । 

नगरपालिकाले हालसम्म १ करोड ४० लाख किसानको खातामा पठाइसकेको र असार २० गतेसम्म पीडित सूचीकृत सबै किसानको खातामा रकम पठाइसक्ने गरी काम गरिरहेको छ । 

टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा पनि वितरण प्रक्रिया थालिएको छ । टीकापुरमा अहिले पीडित किसानलाई राहत रकम हस्तान्तरणका लागि बैंकमा खाता खोल्ने काम भइरहेको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख मोतीसिंह विकले बताए । ‘प्रदेश सरकारबाट रकम आएको छ । हरेक वडाका नागरिकको एउटै बैंकमा खाता खोलेमा पठाउन सहज हुने भएकाले खाता खोल्न लगाइरहेका छौं,’ विकले भने ।