बाजुराको बुढीगंगामा गठबन्धनले निर्वाचन विथोल्न खोज्योः थापा 
2022/07/07, 4:09
 
aa

नेकपा एमालेका केन्द्रीय नेता कर्णबहादुर थापाले सत्ता गठबन्धनका दलहरुले बाजुराको बुढीगंगामा निर्वाचन विथोल्न खोजेको आरोप लगाएका छन्। थापाले बुढीगंगाको निर्वाचनबारे भ्रमहरु फेलाइएको भन्दै सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन्। 

उनले लेखेका छन्, ‘बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडानं ९ को मतदानबारे अनेक भ्रमहरु फैलाइदैछ। गठबन्धनले निर्वाचन विथोल्न खोजेपनि निर्वाचन सुचारु भैरहेको छ। राज्य शक्तिको दुरुपयोगले जनताको शक्ति पराजित हुनै सक्दैन।’

यसअघि बुढीगंगा नगरपालिका ९ स्थित त्रिशक्ति मावि मतदानस्थलमा विवाद भएको थियो। फर्जी मत खसाएको विषयमा विवाद भएपछि दलका कार्यकर्ताहरुबीच झडप समेत भएको हो। झडप साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार पनि गरेको थियो।

अहिले मतदानस्थल सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ। मतदान पुनः सुरु भएको प्रहरीले जनाएको छ। यहाँ गत वैशाख ३० गते भएको मतदान विवादित भएपछि त्यसलाई रद्द गरेर आज पुनः मतदान भैरहेको छ। यहाँ नगर प्रमुख पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार रहेका छन्।