खप्तड गोल्डकपको उपाधि माथि मनाङ र थ्रीस्टारको दाबी
2023/03/31, 3:45
 
ss

धनगढीमा जारी छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाईनल खेल भोली हुदैंछ । धनगढी रङ्गशालामा उपाधिका लागि साविक विजेता मनाङ मस्याङ्दी क्लब र थ्रीस्टार क्लब भिड्दैछन् । फाइनल खेल दिउँसो ३ बजे हुनेछ ।  फाइनल भिडन्त अघि गोल्डकपको सबैभन्दा सफल टोली मनाङ र तेस्रो पटक फाईनल पुगेको थ्र्रीस्टार क्लबले उपाधिमाथि दावी गरेका छन् ।

थ्रीस्टार पहिलो पटक सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने मनाङ भने तेस्रो पटक उपाधि आफ्ना् कब्जामा पार्ने दाउमा छ । मनाङले सेमिफाईनलमा विदेशी क्लब एभिनियरलाई ६–० ले हराएको हो । क्वाटरफाईनलमा उसले वागमति युवा क्लबलाई २–१ ले किनारा लगाएको थियो । मनाङले पहिलो र पाँचौं संस्करणको उपाधि जितेको थियो । दुबै संस्करणमा फाईनल पुग्दा मनाङले सफलता हासिल गरेको छ । यो सफलतालाई निरन्तरता दिने मनाङको योजना छ । 

थ्रीस्टारले सेमिफाईनलमा भने १० खेलाडीमा सिमित भएर पनि आयोजक सुदुरपश्चिम ११ लाई ट्राईबे्रकरमा ४–२ ले हराएको थियो । क्वाटरफाईनलमा थ्रीस्टारले फेन्ड्स क्लबलाई १–० ले किनारा लगाएको छ । थ्रीस्टार तेस्रो र चौथो संस्करणमा फाईनल पुगेर उपविजेतामा सिमित भएको थियो । तेस्रो फाईनलमा भने विगतमा भएका गल्तीलाई सुधारेर उपाधि जित्ने योजना थ्रीस्टारको छ । 

धनगढीमा आज भएको प्रि–म्याच कन्फ्रेन्समा खप्तड गोल्डकपको फाइनल अघि दुवै टिमका कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् । मनाङका कप्तान जीवन गुरुङले खप्तड गोल्डकपमा टिमको लक्ष्य विगतको जस्तै उपाधि जित्नु रहेको बताउनुभयो ।

1

थ्रीस्टारका कप्तान विक्रम लामाले विगतमा भएको गल्ती सुधार्दै उपाधि जित्ने बताउनुभयो । फाईनलका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा रहनुभएको छ । सुदुरपश्चिम खप्तड गोल्डकप २०७३ सालदेखि आयोजना हुदैं आएको छ । सबैभन्दा बढी दुई पटक पहिलो र पाचौं संस्करणको उपाधि मनाङले जितेको छ भने दोस्रो संस्करणको उपाधि नेपाल आर्मी क्लब, तेस्रो संस्करणकोे उपाधि नेपाल पुलिस क्लब र चौथो संस्करणको उपाधि आयोजक सुदुरपश्चिम ११ ले जितेको थियो । छैटौ संस्करणको विजेताको टुंगो भोली हुने फाईनल खेलले लगाउनेछ । 

प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी  दिएको छ । भिडियो एफटिपीमा पठाईएको छ ।