सुदूरपश्चिम मुख्यमन्त्री खप्तड गोल्डकपको आय व्यय सार्वजनिक
2023/05/22, 12:49
 
सुदूरपश्चिम मुख्यमन्त्री खप्तड गोल्डकपको आय व्यय सार्वजनिक

कैलाली, जेठ ८ - देशकै सर्वाधिक धनराशिको खप्तड गोल्डकपको छैटौँ संस्करणको आयव्यय विवरण सार्वजनिक गरिएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै गत वर्षको छैटौँ संस्करणको आयव्यय विवरण सार्वजनिक गरेको हो । २०७९ चैत ९ गतेदेखि १८ गतेसम्म आयोजना भएको गोल्डकपको १ करोड २४ लाख ८४ हजार बराबरको आयव्यय विवरण पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुरेश हमालले सार्वजनिक गर्नुभयो । 

प्रतियोगिता आयोजनाका लागि ५ सय २० रुपैयाँ फाइदा भएको छ । प्रायोजक तथा प्रवर्द्धक तर्फ ३१ लख रुपैयाँ उठ्न बाँकी रहेको छ भने ३० लाख ९७ हजार ४ सय ८० रुपैयाँ तिर्न बाँकी रहेको हिसाब किताब पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । 

खर्च तर्फ पुरस्कारमा ३६ लाख, खेलाडी भत्ता तथा यातायातमा ४० लाख, छपाई स्टेशनरी तथा ब्यानरमा १४ लाख, रेफ्री भत्ता खाना तथा आवासमा ४ लाख, आयोजक टोली तयारी खर्चमा साढे ६ लाख, उद्घाटन समापन तथा अतिथि सत्कारमा ६ लाख बढी रकम खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । रेफ्री खर्चमा सवा तीन लाख, खेल मैदान मर्मत सम्भारमा साढे तीन लाख, पोसाक डे«स तथा स्वयमसेव भत्तामा ४ लाख, सुरक्षामा साढे तीन लाख, स्थानीय यातायातमा सवा एक लाख तथा अन्य विभिन्न खर्च गरी एक करोड २४ लाख ८४ हजार रुपैयाँ खर्च भएको सार्वजनिक गरिएको आयव्यय विवरणमा राखिएको छ । खर्च अनुसारको आम्दानी भएमा साढे दुई हजार बढी आम्दानी हुने भएको छ । मुख्य प्रवर्द्धकबाट सवा ७७ लाख, नेपाल टेलिकम, नेपाल आयल निगम र जगदम्बा स्टिलबाट ५ लाखको दरले गरी १५ लाख, टिकट विक्रीबाट ११ लाख, राखेपबाट १० लाख, ५ वटा स्थानीय तहबाट गरी ७ लाख, ब्यानर प्रायोजनबाट साढे ५ लाख आम्दानी भएको छ । प्रवर्द्धक तथा प्रायोजकबाट अझै ३१ लाख रकम उठ्न बाँकी रहेको छ । त्यसै गरी गोल्डकप गर्नका लागि खर्च भएको ३० लाख साढे ९७ हजार रकम पनि तिर्न बाँकी रहेको छ ।