‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन
न्यू सिटी पोलिक्लिनिक सुदूरपश्चिम आइकन महिला
2023/05/31, 4:04
 
‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’ लाई न्यू सिटी पोलिक्लिनिकको प्रायोजन

धनगढी - कैलालीको धनगढीमा असार ८ गते आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०७९’ लाई न्यू सिटी पोलिक्लिनिक प्रा.लि. ले प्रायोजन गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने अवार्डको मुख्य प्रायोजक धनगढीमा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) रहेको छ । विगतका संस्करणमा समेत साथ दिँदै आएको न्यू सिटी पोलिक्लिनिकले चौथो संस्करणमा पनि अवार्डलाई प्रायोजन गरेको हो । 

अवार्ड मार्फत प्रदान हुने ८ वटा विधामा सुदूरपश्चिम आइकन महिला विधालाई उक्त क्लिनिकले प्रयोजन गरेको हो । अब उक्त विधाको नाम न्यू सिटी पोलिक्लिनिक सुदूरपश्चिम आइकन महिला अवार्ड हुने भएको छ । मङ्गलवार मञ्चका अध्यक्ष प्रदीप पाठक र अस्पतालका सञ्चालक भरत कुँवरले उक्त विधाको अवार्डका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

धनगढीमा रहेको निजी क्षेत्रको स्वास्थ्य संस्था न्यू सिटी पोलिक्लिनिकले विगत लामो समय देखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ सेवा प्रवाह गर्दै आएको छ । हाड जोर्नी तथा नसासँग सम्बन्धित समस्याको उपचारमा उक्त क्लिनिकले थप विशेषज्ञ सेवाहरू प्रदान गर्दै आएको छ । 

असार ८ गते धनगढीमा आयोजना हुने चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । 

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । 

यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 

अवार्डको चौथो संस्करणको तयारी तीव्र रूपमा भइरहेको छ । प्रायोजक प्रर्वद्धकहरुको खोजी गर्दै अवार्डको तयारी अघि बढेको छ ।