असिना पानीले अन्नबाली सखाप 
2020/05/12, 7:25
 
asinapani

असिनापानीले किसानको अन्नबाली सखाप पारेको छ । असिनापानीले पाक्नै लागेको र पाकिसकेको गहुँ, जौ, तरकारी फलफूल लगायत हिउँदेबाली सखाप पारेको हो । पाक्ने बेला गहुँ नै असिनाले सखाप पारेपछि किसान चिन्तित भएका छन् ।

डेढ हप्तादेखि दार्चुलामा असिनापानी परिरहेको छ । अहिलेको असिनापानीले अन्नबाली पूरै सखाप परेको नौगाड गाउँपालिका–३ का धनसिंह सितोलीले बताए । “अन्नबालीसँगै तरकारीमा समेत क्षति पु¥याएको छ । पोलीहाउस बाहिरका सबै तरकारी, फलफूल र अन्नबाली सखाप भयो”, उनले भने, “एकातिर लकडाउनले खाद्यान्न समस्या भइरहेका बेला असिनापानीले झन् बढी क्षति पु¥यायो, लगाएको बाली सबै नोक्सान पुगेपछि भोकमरी हुने अवस्था आएको छ ।”


“अहिले दिनहुँ आइरहेको असिनापानीले पाकेको खेतीसमेत भित्र्याउन सकिएको छैन । पाकेको गुहँ, जौ पुनः पानीले हरियो देखिन थालेको छ”, अपिहिमालका स्थानीय प्रेमसिंह कार्कीले भने । भित्र्याइएको खेती समेत नोक्सानी भएको छ । असिनापानीले सबैभन्दा बढी नौगाड गाउँपालिकामा क्षति गरेको छ । नौगाड गाउँपालिका वडा नं ३ मा बढी क्षति भएको नौगाड कृषि शाखाले जनाएको छ । नौगाड कृषि शाखाको प्रारम्भिक तथ्याङ्कअ नुसार कृषि पकेट क्षेत्र रहेको वडा नं ३ र २ का केही क्षेत्रमा एक हजार बढी रोपनीमा क्षति पुगेको छ ।


असिनापानीले दार्चुलाका अधिकांश भागमा पाक्न लागेको अन्नबालीमा क्षति पु¥याएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए । भित्र्याउने समयमा भएको क्षतिका कारण किसानको सबै मेहनत खेर गएको उनले बताए । यस्तै मालिकार्जुन गाउँपालिका–१ न्वालपानी, व्यासको वडा नं २ राप्ला र वडा नं ३ सिना क्षेत्रमा समेत असिनापानीले क्षति पु¥याएको जनाइएको छ । यो पटक असिनापानी बढी आउँदा किसान निरास भएका छन् ।