‘विपिन जोशीलाई आउँदो युद्धविराममा छुटाउन सफल हुन्ने विश्वास छ’: परराष्ट्रमन्त्री साउद
2023/12/27, 9:08
 
ss

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको नियन्त्रणमा रहेका विपिन जोशीलाई आउँदो युद्धविराममा छुटाउन सफल हुने विश्वास ब्यक्त गरेका छन् । परराष्ट्रमन्त्री मन्त्री साउदले इजरायलमा हमासको आक्रमणमा परी हालसम्म अज्ञात अवस्थामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिरहेको दाबी पनि गरे ।

इजरायलमा हमासद्वारा असोज १० गते भएको आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने कञ्चनपुरका विपिन जोशीको अवस्था अझै अज्ञात छ । ‘विपिन जोशीको उद्धार र रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई म आफैँले भेटेर पहल गरिदिन आग्रह गरेको छु’ मन्त्री साउदले भने, ‘अहिलेसम्मको विवरणअनुसार विपिन जोशीको जीवन सुरक्षित नै छ। आउँदो युद्धविराममा हामी विपिन जोशीलाई छुटाउन सफल हुनेछौँ भन्ने मेरो दृढ विश्वास छ।’

यससँगै युक्रेनमा बन्दी बनाइकाका नेपालीको हकमा आफूहरू युक्रेन सरकारको सम्पर्कमा रहेको र युक्रेन हेर्ने नेपाली राजदूतले उद्धारका लागि संवाद गरिरहेको उनले जानकारी दिए ।अन्तर्राष्ट्रिय रेडक्रसलाई युद्धबन्दी बनाइएका चार नेपालीलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरिएको र यसको परिणाम चाँडै आउला भन्ने विश्वास लिएको उनको भनाई छ।

रुसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै भन्दै उनले यसबाहेक सयजना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको बताए । ‘उनीहरुका परिवार र साथीभाइले खबर गरेका छन् । यसका लागि नेपालस्थित रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासोहरु रुसी सरकारसम्म पु¥याउनका लागि स्पष्ट सन्देश दिएका छौँ । मस्कोस्थित नेपाली दूतावासलाई पनि राष्ट्रिय मानवअधिकार आयोगको चासोलाई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्पे्रषण गरेका छौँ । यसमा हामी प्रयत्न गरिरहेका छौँ ।’ मन्त्री साउदले भने ।

रुसमा नेपाली नागरिक सैन्य भर्तीका लागि जान नपाउन् वा नजाउन् भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ ९एनओसी०को प्रबन्ध गरेका छौँ । दक्षिण एसियाको भारत, बङ्गलादेश र श्रीलङ्का तथा खाडी क्षेत्रका छ देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाएका छौँ । यसपछि पनि थप केही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाउने मन्त्री साउदको भनाई छ ।करिब दुई सयजना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशङ्का गरिएको उनले बताए ।

प्रस्तुत छ, यसै सन्दर्भमा केन्द्रित रहेर नेपाली कांग्रेसका नेता एवं परराष्ट्रमन्त्री साउदसँग गरिएको कुराकानीको अंश

१ . इजरायलमा हमासको आक्रमणमा परि अहिलेसम्म थाहा नभएको अवस्थामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि के पहल गरिरहनुभएको छ र ?

विदेशमा धेरैको सङ्ख्यामा नेपाली छन् । विदेशमा नेपाली समुदायलाई राज्यले कसरी रेखदेख गर्छ भन्ने चिन्ता चासोका बीच इजरायलमा नेपाली अप्ठ्यारोमा परेका बेला उद्धार गर्न नेपाल सरकारको एक सदस्यका हैसियतमा म स्वयम् इजरायल गएको थिएँ । एकाएक भएको त्यस आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाउनुपरेको थियो । इजरायल सरकारको सहयोगमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धारका साथै मृतकका शव परिवारलाई बुझाउने काम भएको छ । यसले जहाँ नेपाली आपतमा हुन्छन्, त्यहाँ नेपाल सरकार साथमा हुन्छ भन्ने सन्देश गएको छ ।

विपिन जोशीको उद्धार र रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस, कतारका प्रधानमन्त्रीसम्मलाई म आफैँले भेटेर पहल गरिदिन आग्रह गरेको छु । अहिलेसम्मको विवरणअनुसार विपिन जोशीको जीवन सुरक्षित नै छ। विपिन जोशीलाई आउँदो युद्धविराममा छुटाउन सफल हुनेछौँ भन्ने मेरो दृढ विश्वास छ ।

२. रुसी सेनामा नेपाली युवा भर्ना भएका र अहिले केहीको ज्यान गएको तथा केही युक्रेनमा बन्दी बनाइएको भन्ने कुरा आएको छ, यसमा सरकारले उद्धारका लागि के पहल गरिरहेको छ ?

रुसी सेनामा केही नेपाली भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रुसी सरकारले नै दिएको छ । यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएका उजुरी मन्त्रालयमा आएको छ । उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन् । यसका लागि नेपालमा रहेको रुसका राजदूतलाई मन्त्रालयमा बोलाएर हाम्रा चासोहरू रुसी सरकारसम्म पुर्‍याउनका लागि स्पष्ट सन्देश दिएका छौँ । मस्कोमा रहेको नेपाली दूतावासलाई पनि राष्ट्रिय मानव अधिकार आयोगको चासोलाई समेत राखेर नेपाल सरकारको दृष्टिकोण सम्प्रेषण गरेका छौँ । यसमा हामी प्रयत्न गरिरहेका छौँ ।

रुसमा सेनामा भर्ना हुनका लागि नेपाली जान नपाऊन् वा नजाऊन् भनेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ एनओसी को प्रबन्ध गरेका छौँ । दक्षिण एसियाको भारत, बङ्गलादेश र श्रीलङ्का तथा खाडी क्षेत्रका छ वटा देशबाट एनओसी चाहिने गरी प्रबन्ध मिलाएका छौँ । यसपछि पनि थप केही त्यहाँ गएको भन्ने सूचना आएको अवस्थामा विमानस्थलमा थप निगरानी बढाएका छौँ । यसमा हामीले आफ्नोतर्फबाट गर्ने पहलकदमीमा केही कसर बाँकी राखेका छैनौँ । कुनै कारणवश अप्ठ्यारोमा परेर हाम्रो दूतावासमा पुगेकाको उद्धार गरेका छौँ । नेपाल फिर्ता गरेका छौँ ।

झन्डै दुई सय जना काम गर्न, अध्ययन र भ्रमण भिसामा रुस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशङ्का गरिएको छ । त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो । किन भने सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ । यो सङ्ख्या दुई सयभन्दा बढी रहेको हुनसक्ने हाम्रो अनुमान छ ।

यससँगै युक्रेनमा बन्दी बनाइकाका हकमा हामी युक्रेन सरकारको सम्पर्कमा छौँ । युक्रेन हेर्ने हाम्रो राजदूतले उद्धारका लागि वार्तारसंवाद गरिरहनुभएको छ । दिल्लीमा रहेको नेपाल हेर्ने युक्रेनको राजदूतावासमा पनि कुरा भइरहेको छ । अन्तर्राष्ट्रिय रेडक्रसलाई युद्धमा बन्दी बनाइएका चार जना नेपालीलाई तत्काल रिहाइका लागि सहजीकरण गरिदिन आग्रह गरेका छौँ । यसको परिणाम चाँडै आउँला भन्ने मैले विश्वास लिएको छु ।