एसपी बढुवामा हस्तक्षेप, ओली र प्रचण्डका पूर्वपीएसओलाई प्राथमिकता दिन दवाव
2024/01/08, 2:56
 
aa

राजनीतिक दवावले लामो समयदेखि नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक एसपी पदमा बढुवा रोकिएको छ । यो पदमा बढुवा हुनका लागि १२ जना डीएसपी प्रतिस्पर्धामा छन् । दुई महिना अगाडि नै भइसक्नु पर्ने बढुवा राजनीतिक दवावका कारण अहिलेसम्म हुन सकेको छैन । बढुवा प्रक्रिया लम्बिँदा नेपाल प्रहरीको कार्यसम्पादनमा समेत समस्या उत्पन्न हुन थालेको छ ।  

थोरै सीट संख्यामा प्रतिस्पर्धी बढी भएका कारण प्रहरी प्रधान कार्यालयलाई बढुवाको नतिजा निकाल्न सकस परको छ । १२ जनाको प्रतिस्पर्धामा रोलक्रम पछाडि रहेका डीएसपीलाई बढुवा गर्नुपर्ने दवावमा महानिरीक्षक बसन्त बहादुर कुँवर रहेकाले पनि उनले निर्णय लिन सकेका छैनन् । अहिले नेपाल प्रहरीमा एसपीको रिक्त संख्या सात जना रहेको छ ।  तर यो बढुवामा १२ जना डीएसपीहरू प्रतिस्पर्धामा छन् । 

उनीहरू सबै बढुवाका हकदार भएकाले कसलाई समेट्ने र नसमेटनेमा प्रहरी महानिरीक्षक कुँवर अन्योलमा छन भने अर्कोतर्फ दलका नेताको दवाव पनि उत्तिकै छ । प्रहरी अधिकारीहरूका अनुसार प्रहरी महानिरीक्षक कुँवर राजनीतिक दवावमा छन् । साधारणतया प्रहरी एसपीसम्मको बढुवा महानिरीक्षकको तजबिजी अधिकारभित्र पर्छ । तर कुँवर राजनीतिक शक्तिकेन्द्रको सिग्नल मिलाउन खोजिरहेका छन् । जसका कारण राजनीतिक दवावबीच उनले डीएसपीको बढुवा गर्न सकिरहेका छैनन् ।  

अहिले बढुवाको प्रतिस्पर्धामा प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रन्जितकार र निरन्जनदत्त भट्टसहित डीएसपी राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा र विनोद घिमिरे रहेका छन् । जसमध्ये तीन जना पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पूर्वपीएसओ हुन् । अहिले १२ नम्बरमा रहेका डीएसपी घिमिरे प्रधानमन्त्री प्रचण्डका पूर्वपीएसओ हुन् । जो यसअघि भएको बढुवामा छुटेका थिए । 

उता, राजन लिम्बू र सन्तोष तामाङ एमाले अध्यक्ष ओलीका पूर्वपीएसओ हुन् । उनीहरूमाथि अध्यक्ष ओलीको निगरानी छ । राजनीतिक दवाव बढाउन सक्ने क्षमता राख्ने अधिकृत भएकाले महानिरीक्षक कुँवरमाथि दवाव आइरहेको छ ।  लिम्बू ८ र तामाङ बढुवाको रोल क्रममा ९ नम्बरमा छन् । उनीहरुभन्दा अगाडिका सात जना सिनियर भएकाले यो बढुवामा उनीहरू नपर्न सक्ने सम्भावना रहन्छ । 

यसअघिको बढुवामा घिमिरे, तामाङ र लिम्बू प्रधानमन्त्रीको पीएसओ बसेको भन्दै बढुवामा परेका थिएनन् । मंसिर पहिलो साता नै बढुवा गर्ने तयारी भएपनि प्रहरी महानिरीक्षक कुँवरले पुस कटिसक्दा पन निर्णय लिन सकिरहेका छैनन् । उनी निर्णय नै नगरी गत मंसिर १० गते इन्टरपोलको महासभामा सहभागी हुन अष्ट्रियातर्फ गएका थिए । जसका कारण उनी नफर्किकन बढुवा प्रक्रिया अघि सकेको थिएन । कुँवर फर्किएको एक महिना बितेको छ । यसबीच बढुवा निस्किन सकेको छैन ।