हेमन्त र भोजराजको घातक बलिङमा बागमती विरुद्ध सुदूरपश्चिम विजयी
2024/04/26, 6:00
 
ss

वीर गणेशमान सिंह टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई हराउँदै सुखद अन्त्य गरेको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा बागमतीलाई तीन विकेटले हराउँदै सुदूरपश्चिमले प्रतियोगितामा सुखद अन्त्य गरेको हो ।

अन्तिम खेलमा गमतीले प्रस्तुत गरेको ७१ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १० दशमलव दुई ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो । उसका लागि गजेन्द्र बोहरा र वसन्त कार्कीले समान १७र१७ तथा नरेन साउदले १० रन बनाए । बागमतीका लागि इशान पाण्डेले तीन, रिजन ढकालले दुई तथा सोनु देवकोटाले एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमती १९ दशमलव एक ओभरमा ७० रनमा अलआउट भयो । उसका लागि सोनु देवकोटाले सर्वाधिक ३५ रनको योगदान दिए । त्यस्तै, रिजन ढकालले १७ रन जोड्नुबाहेक अन्य खेलालीले दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् ।

सुदूरपश्चिमका लागि भोजराज भट्ट र हेमन्त धामीले सानदार बलिङ गरे । भोजराजले ४ ओभरमा एक मेडनसहित १२ रन दिएर ४ विकेट लिए । सुदूरपश्चिमको जितमा नायक साबित भएका भोजराज ‘प्लेयर अफ द म्याच’ घोषित भए ।  यस्तै, कप्तान समेत रहेका हेमन्तले ४ ओभरमा एक मेडनसहित १० रन मात्र दिएर महत्वपूर्ण तीन विकेट लिए ।

उनले आशुतोष घिरैया, इशान पाण्डे र कृष कार्कीलाई आउट गरे । योसँगै हेमन्त जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचीको तेस्रो स्थानमा रहे । उनले प्रतियोगिताको ६ खेलमा ५.४९ को इकोनमीमा ११ विकेट लिए ।

सुदूरपश्चिम र बागमतीको खेल सकिएसँगै प्रतियोगिताको फाइनल खेल्ने टिमको टुंगो लागेको छ । यसपटक प्रतियोगिताको उपाधिका लागि लुम्बिनी र कर्णाली प्रदेश खेल्नेछन् । यी दुई टिमबीचको फाइनल प्रतिस्पर्धा आइतबार हुनेछ । 

लुम्बिनी ६ खेलमा आठ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । दोस्रो स्थानको कर्णालीले पनि समान खेलबाट आठ अंक नै जोड्यो । सुदूरपश्चिमसँग हारेको बागमती पनि आठ अंक नै थियो । तर, रनरेटमा पछि पर्दा ऊ फाइनलमा पुग्न चुक्यो । कूल ६ जोडेको सुदूरपश्चिम तालिकाको पाँचौं स्थानमा रह्यो ।