कैलालीका २१ सहित सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा डोटीका ४०, कैलालीका २१ र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको गौरीगंगा नगरपालिकाका सात जना, लम्कीचुहा नगरपालिकाका ६ जना, धनगढी उप–महानगरपालिकाका चार जना, गोदावरी नगरपालिकाका दुई जना, जोशीपुर र टीकापुरका एक एक जनामा संक्रमण पुष्टि भएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना र बेदकोट नगरपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा चार सय २५ जनाको कोरोना परीक्षण भएको छ । उता डोटीमा पछिल्लो २४ घण्टामा एक सय ५ जनाको कोरोना परीक्षण भएकोमा ४० जनामा संक्रमण पुष्टि भएको छ ।
उनीहरु सबै नेपाली सेनामा कार्यरत हुन । दिपायल सिलगढी नगरपालिका–४ सुल्लेक स्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । यसअघि पनि नेपाली सेनाका सोही ब्यारेकमा २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमित सबैजनाको स्वास्थ अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ६ सय ५९ पुगेको छ । संक्रमण पुष्टि भएका पाँच हजार सात सयले कोरोना जितेका छन ।
एक जनाको मृत्यु
सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ५७ बर्षीया संक्रमित महिलाको आज साँझ मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
सूचना अधिकारी श्रेष्ठका अनुसार उनलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो भने कडा खालको लक्षण देखिएपछि १९ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । संक्रमितको प्लाज्मा थेरापी मार्फत उपचार भएको थियो भने रेम्डेसिविर औषधी समेत प्रयोग गरिएको थियो । योसँगै सुदूरपश्चिममा संक्रमित मृतकको संख्या १५ पुगेको छ ।