सुदूरपश्चिमका ५७०७ जनाले कोरोना जिते, कुन जिल्लाका कति घर फर्किए ? 
2020/09/17, 9:34
 
corona

सुदूरपश्चिम प्रदेशमा पाँच हजार सात सय बढीले कोरोना जितेका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बुधवार थप १८ जनाले कोरोना जितेको जानकारी दिए । उनका अनुसार कञ्चनपुरबाट ७, बझाङबाट ५, डोटीबाट ५ र सेती प्रादेशिक अस्पतालबाट एक जना जनालाई बुधवार डिस्चार्ज गरिएको हो।

योसंगै प्रदेशमा पाँच हजार सात सय सात संक्रमितले कोरोना जितेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ७१ जना निको भएर घर फर्किएका छन् ।  डोटीका नौँ सय २८, अछामका नौँ सय १२, कञ्चनपुरका ६ सय ९१ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ ।

बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ७६, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ६ सय ३६ पुगेको छ। संक्रमण पुष्टि भएका १५ जना संक्रमितको मृत्यु भईसकेको छ । प्रदेशमा संक्रिय संक्रमित भने सात सय ४९ रहेका छन ।