सीमामा आमालाई सबैभन्दा बढी सकस 
2020/05/30, 8:35
 
sima aama

भारतबाट फर्किरहेका नेपालीमा सबैभन्दा बढी सकस आमालाई हुने गरेको छ । लामो समयदेखि श्रीमानसँगै भारतमा बसिरहेका महिला कोरोनाका कारण अहिले लालाबाला बोकेर घर फर्किरहेका छन् ।  सीमामा महिलाको छुट्टै तथ्यांक नराखिए पनि भारतबाट फर्केका मध्ये ३० प्रतिशतको हाराहारीमा महिला रहेका छन । कामका लागि भारतमा जाने सुदूरपश्चिमका युवा गाउँघरमा कामको समय बाहेक श्रीमती र बच्चा समेत लगेर जाने गर्छन ।

आफूले पनि काम गर्ने र आफूले काम गर्ने कम्पनी वा टोलमा महिलालाई सरसफाईमा लगाउने गरिएको छ । ‘श्रीमती लगेमा, बस्न र खानेसम्मको कमाई श्रीमतीले गर्छिन, आफ्नो तलब चोखै बच्छ, घरमा काम नभएका बेला जान्छौँ’, डोटीका दिलिप नेपालीले भने । उनले भारतमा फर्किदा धेरै दुःख पाएको बताए । ‘महिलाहरु दुई तीन बच्चा बोकेर हैरान भएका छन् । सामान एक क्विन्टल बोक्न सकिन्छ तर बच्चा बोक्न जस्तो गाहे त केही हुदैन’, उनले भने ।

तराईमा अहिले ४० ४२ डिग्रीको गर्मी छ । भारतको मुम्बई, बेंगलोर जस्ता सहरबाट गौरीफन्टा पुग्न तीन दिन लाग्छ । ‘तीन दिनसम्म बच्चाका लागि बाटोमा दूध पाएन, रोएर हैरान बनायो, बच्चा पनि कमजोर भइहाल्यो, आमाको दूधले मात्रै पुग्दैन’, विकले भने । गौरीफन्टा नाकामा बच्चा बोकेका महिलालाई लाइन बिना नै आउन दिए पनि, भीडभाड र गर्मीका कारण उनीहरु हैरान देखिन्थे ।

‘भारतको बैंगलोरमा तीन वर्ष भयो काम गर्न थालेको, कोरोनाका कारण आउनु पर्यो, तीन तीन बच्चा छन’, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकी निर्मला भण्डारीले भनिन, ‘बच्चाले हैरान बनाए । खाना पनि पाइएन ।’ गौरीफन्टा बोर्डरमा उनीहरुका विभिन्न संघ संस्थाले खाना र पानीको व्यवस्थापन गरेको  खबर अन्नपुर्ण पोष्टमा रहेको छ ।