सुदूरपश्चिम स्पोर्टस अवार्डलाई निसर्ग हस्पिटलको साथ
विधाको नाम निसर्ग हस्पिटल बर्ष युवा खेलाडी अवार्ड रहने
2021/01/27, 11:51
 
SPORTS AWARD

धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गर्ने स्पोर्टस अवार्डको दोस्रो संस्करणमा निसर्ग हस्पिटलले प्रायोजन गरेर साथ दिएको हो । 

स्पोर्टस अवार्डमा दिईने ९ वटा विधा मध्येको ‘बर्ष युवा खेलाडी’ अवार्डको विधालाई निसर्ग हस्पिटलले प्रायोजन गरेको हो । अब यो विधाको नाम निसर्ग हस्पिटल बर्ष युवा खेलाडी अवार्ड रहने छ । यो विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ । अघिल्लो बर्ष पनि निसर्ग हस्पिटलले विधा प्रायोजन गरेर साथ दिएको थियो । विधा प्रायोजन सम्बन्धी सम्झौता पत्रमा निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का तर्फबाट अध्यक्ष तिर्थराज पन्त र प्रवन्ध निर्देशक कुबेर बहादुर शाही तथा नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्यायले हस्ताक्षर गरे ।
स्वास्थ्य लागी खेलकुद मात्रै नभई ‘‘राष्ट्रका लागी खेलकुद र खेलकुदका लागी स्वास्थ्य’’ भन्ने अभियानका साथ विभिन्न खेलकुद गतिविधीहरु तथा सामाजिक कार्यहरुमा निसर्ग हस्पिटल सकिृय रहँदै आएको र आगामी दिनहरुमा पनि सकृय रहने अध्यक्ष तिर्थराज पन्तले बताए । शाही र पन्त दुबै जना लामो समयदेखि खेलकुदको विकास साथै सामाजिक कार्यहरुमा सक्रिय हुँदै आएका छन् । दुबैजना धनगढी प्रिमियर लिग सुरु हुनुअघि धनगढीमा आयोजना भएको धनगढी क्रिकेट लिगमा सहभागी भएको ‘हसनपुर रोयल्स’ टीमका मालिक समेत थिए । निसर्ग हस्पिटलको साथले अवार्डलाई अझ भव्यताका साथ सम्पन्न गर्नलाई सहयोग गरेको मञ्चका सल्लाहकार उपाध्यायले बताए । 

धनगढी उपमहानगरपालिका–५, हसनपुर स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अस्पतालले नवजात शिशु तथा बालरोग सेवा, हाडजोर्नी तथा नसा रोग सेवा, जनरल मेडिसिन (फिजिसियन) सेवा, जनरल तथा दुरबिन बाट अप्रेशन सेवा, स्त्री तथा प्रसुती रोग सेवा, भिडियो एक्स(रे (रेडियोलोजी) सेवा, मानसिक तथा नशा रोग सेवा, मुख, अनुहार तथा बङ्गारा रोग सेवा, नाक कान घाँटी रोग सेवा, छाला कुष्ठरोग सौन्दर्य तथा यौन रोग सेवा, मृगौला तथा मुत्र रोग सेवा, न्युरो मस्तिस्क नशा तथा मेरुदण्ड रोग सेवा,एनेस्थेसिया तथा क्रिटिकल केयर सेवा लगायतका सेवाहरु प्रदान गरिरहेको छ । 

आगामी चैत ६ गते धनगढीमा आयोजना हुने अवार्डको दोस्रो संस्करणमा २०७६ सालभर उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिईनेछ । गत वर्ष ६ विधामा अवार्ड दिईएको थियो । पिपल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधा यसपालीदेखि थप गरिएका हुन् । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन् । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर समेत प्रदान गरिने आयोजकले जनाएको छ ।