चन्डिका ग्रुप लिटल फ्लावर प्रीमियर लिग-५´को तयारी तीब्र
2021/01/30, 7:05
 
lpl

विगत ५ वर्षदेखि धनगढीमा सञ्चालन हुँदै आएको विद्यालय स्तरको यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको पाँचौ संस्करणको तयारी तीब्र रुपमा भैरहेको छ। फागुन १५ गतेदेखि धनगढीमा सञ्चालन हुने उक्त प्रतियोगिताको ७० प्रतिशत तयारी पूरा भएको आयोजक लिटल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सले जनाएको छ।

इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले महामारीले थिलथिलो बनेको शिक्षासँगै विद्यालय स्तरको खेल क्षेत्र र खेलाडीहरूलाई फेरि पुरानै लयमा फर्काउन सरकारी तथा निजी क्षेत्रले अहिले अहम् भूमिका खेल्नुपर्ने देखिएकाले आर्थिक सङ्कटकै बीचबाट पनि प्रतियोगितालाई निरन्तरता दिन लागिएको बताए।

‘महामारीले विद्यालय तथा व्यापार व्यवसाय ठप्प बनेको छ। सँगसँगै खेल क्षेत्र पनि ठप्प भयो’, उनले भने, ‘अब हामी निजी स्तरबाट खेल क्षेत्रको उत्थानमा लागिपरेकाहरूले यो क्षेत्रसँगै खेलाडीको करियरका विषयमा समेत सोच्नुपर्ने समय हो यो। त्यसैले आर्थिक चपेटाकै बीचमा पनि जोखिम मोलेका छौँ। पुरस्कार राशी घटाएर भए पनि खेलाडीलाई खेल क्षेत्रमा फर्काउनुपर्छ भनेर हामी आगामी संस्करणलाई सफल बनाउन अघि बढेका हौँ।’

उनले आगामी फागुन १५ गतेदेखि २५ गतेसम्म धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने गरी तयारी भइरहेको बताए। प्रतियोगितामा विद्यालय स्तरका यू-१९ का खेलाडीहरूले सहभागिता जनाउने छन्। लिग कम नक आउट फर्म्याटमा खेलाइने प्रतियोगितामा देशभरका १२ विद्यालय सहभागी हुने शाहीले जानकारी दिए।

विगतमा ४ जनासम्म १९ वर्ष मुनिका विद्यालयबाहिरका खेलाडीलाई सहभागी गराइने प्रतियोगितामा यस वर्ष भने विद्यालय बाहिरका १९ वर्ष मुनिका ३ जना मात्रै खेलाडी प्रति टिममा सहभागी गराउने जनाइएको छ। एलपीएलको पाँचौँ संस्करणको मुख्य प्रायोजनका लागि कैलालीको टीकापुरस्थित चण्डिका ग्रुपसँग सम्झौता भए सँगै प्रतियोगिताको पाँचौँ संस्करणको नाम चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग भएको छ।

चौथो संस्करणको विजेताले दुई लाख र उपविजेताले एक लाख पाएकोमा यसपाली पुरस्कार रकम केही घटाइएको आयोजकले बताएको छ। ‘कोरोनाको महामारीको बीचमा प्रतियोगितालाई निरन्तरता दिन सक्नु नै ठुलो हो’, अध्यक्ष शाहीले भने, ‘यो प्रतियोगिता भनेको क्रिकेटको जग बिकासमा सहयोगी भुमिका खेल्ने प्रतियोगिता हो। त्यसैले जग बलियो बनाउनका लागि अफ्ट्यारो परिस्थितिमा पनि नरोक्ने निर्णयमा पुगेका हौँ। जसरी पनि गर्छौँ।’