कञ्चनपुरमा थारु साहित्यकार, लेखकहरुको जमघट 
2022/02/24, 3:47
 
dd

नेपालमा रहेका थारु लेखक, साहित्यकारहरुको कञ्चनपुरमा जमघट भएको छ । कृष्णपुर नगरपालिका–६ सिंहपुरमा बिहीबारदेखि सुरु भएको छैटौं राष्ट्रिय थारु सम्मेलनमा देशैभरिका थारु साहित्यकार, लेखकहरुको जमघट भएको हो ।


थारु भाषा, साहित्य, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनको कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले सम्मेलनको एक कार्यक्रमकाबीच उद्घाटन गरे । सम्मेलन उद्घाटन अवसरमा चार वटा कृतिसमेत विमोचन गरिएको छ । उद्घाटन अवसरमा साँस्कृतिक झाँकीपनि प्रस्तुत गरिएको थियो ।


थारु लेखक सङ्घ र थारु कल्याणकारिणी सभा कञ्चनपुरले संयुक्त रुपमा आयोजना गरेको सम्मेलन तीन दिनसम्म चल्नेछ । सम्मेलनमा नेपालभरिका थारु लेखक, साहित्यकारहरुको सहभागिता रहेको थारु लेखक सङ्घका सचिव सत्य दहितले जानकारी दिए । सम्मेलनमा थारु साहित्यकार एवम् पत्रकार डा. कृष्णराज सर्वहारी, थारु साहित्यकार सुशील चौधरी, अधिवक्ता गीता चौधरी, साहित्यकार छविलाल कोपिला, मानबहादुर चौधरी ‘पन्ना’ लगायतको सहभागिता रहेको छ ।

यसैगरी, सम्मेलनमा हुने समूह छलफलमा विभिन्न स्थानीय तहका प्रमुख÷उप्रमुख, राना थारु समुदायका अगुवा जीवन राना, कृपाराम राना, लेखिका शिवानीसिंह थारु, सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशी, पत्रकार लगायतको सहभागिता हुने आयोजक थारु लेखक सङ्घले जानकारी दिएको छ ।थारु भाषा तथा साहित्य उत्थान मञ्च (गोचाली परिवार) सह–आयोजक रहेको सम्मेलनमा विभिन्न व्यक्तिद्वारा लिखित पुस्तक, कृतिहरु पं्रदर्शनीका लागि राखिएको छ ।  

नेपालमा केही वर्षदेखि राष्ट्रिय थारु सम्मेलन हुँदै आएको छ । पहिलो सम्मेलन दाङको घोराही, दोस्रो कैलालीको पटेला, तेस्रो बर्दिया, चौथो कपिलवस्तु र पाँचौ थारु साहित्य सम्मेलन सुर्खेतमा भएको थियो ।

२०७६ मा भने विराटनगरमा आयोजना गर्ने भनिएको राष्ट्रिय थारु साहित्य सम्मेलन आयोजना हुन सकेन ।