मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याटमिन्टन प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ । सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा तीन दिने मुख्यमन्त्री कप सुदुरपश्चिम प्रदेश ब्याटमिन्टन प्रतियोगिता धनगढीमा सकिएको हो ।
सुदूरपश्चिम प्रदेश ब्याटमिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका सामाजिक राज्यमन्त्रस् टेकवहादुर रैकाले समापन गरे । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंहको अध्यक्षतामा भएको समापन कार्यक्रम सुदूरपश्चिम प्रदेश ब्याटमिन्टन संघका सचिव सुनिल श्रेष्ठले सञ्चालन गरेका थिए ।
प्रतियोगितामा दुई उमेरका चार विधामा प्रतिस्पर्धा भएको छ । १९ बर्षमुनिको प्रतिस्पर्धामा पुरुषतर्फ रोशन साउँद र महिलातर्फ विस्ना विष्ट च्याम्पीयन भएका छन् । धनगढी रंगशालामा शनिबार भएको पुरुषतर्फको फाईनलमा कैलालीका रोशनले कैलालीकै चन्द्रिका कठरियालाई २१–१३ र २१–१५ को सेटमा हराए । महिलातर्फ कञ्चनपुरकी बिस्ना कञ्चनपुरकै निलिमा महरालाई २१–१७ र २१–१३ ले हराउँदै च्याम्पीयन भईन् । १५ बर्षमुनिको प्रतिस्पर्धामा पारस उपाध्याय र रञ्जु राना च्याम्पीयन भईन् ।
पुरुषतर्फ कैलालीका पारसले कैलालीकै सिसिर रानालाई २१–१३ र २१–१० ले हराए । महिलातर्फ कैलालीकी रञ्जुले बैतडीकी समीक्षा बिष्टलाई २१–१७ र २३–२१ ले हराईन् । दुबै उमेर समुहका महिला तथा पुरुष विधाका च्याम्पीयन भएका खेलाडीहरुले नगद १५ हजार प्राप्त गरे । त्यस्तै उपविजेत बनेका खेलाडीहरुले नगद १० हजार पाउँदा सेमिफाईनल पुग्न सफल खेलाडीहरुले पाँच पाँच हजार नगद प्राप्त गरे ।