छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी पुरा
2023/03/22, 7:47
 
ss

छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । बुधबार बेलुका धनगढी रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवले  प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी गराएको हो । 

चैत ९ गते दिउँसो ३ बजे सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगितको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । क्लवका महासचिव प्रकाश शाहीले उद्घाटन खेल नेपाल एपीएफ क्लव र वागमती क्लवबीच विहिबार दिउँसो साढे तीन बजे हुने बताए ।  

प्रतियोगितामा ‘ए’ डिभिजन ६ टीम, दुई विदेशी टिम, मोसलको एक र आयोजक क्लव गरी १० टोलीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । 

विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी  दिएको छ ।सुदूरपश्चिममा पर्वका रुपमा परिचित प्रतियोगिता २०७३ सालदेखि आयोजना हुदै आएको छ । प्रतियोगितामा उद्घाटन खेल हेर्न टिकट नलाग्ने महासचिव शाहीले बताए ।

यस्तै अन्य दिन विद्यार्थीका लागि एक सय र अन्यका लागि एक सय ५० रुपैयाँको टिकट लाग्ने छ । टिकट काटेका मध्ये दैनिक एक जना दर्शकले गोलाप्रथाबाट एन्ड्रोइड मोबाइल फोन पुरस्कार पाउने छन् । 

क्लवका अध्यक्ष सुरेश हमालले सुरुका खेल खेल्ने टीमहरु आइसकेको बताए । उनले सुदूरपश्चिममा आयोजना हुने एकमात्र अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले सबैले आफ्नो ठानेर सहयोग गरिदिन आग्रह गरे ।मुख्य प्रवद्र्धक रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले चित्र भट्टको संयोजकका रुपमा पठाएको छ ।

परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले निजि क्षेत्रलाई पछिल्लो समय आर्थिक मन्दीले परेको असरका कारण प्रायोजक पाउन मुस्किल भएका बेला सरकारले आवश्यक सहयोग गरेर गोल्डकप हुन लागेको बताए ।