सुदूरपश्चिम खप्तड गोल्डकपमा बागमतीको सुखद सुरुवात
2023/03/24, 12:52
 
ss

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको बिहीबारबाट धनगढीमा सुरु भएको छ ।उद्घाटन खेलमा बागमती फुटबल क्लबसंग विभागीय टोली एपीएफ पराजित भएको छ । १–० गोल अन्तरले एपीएफ पराजित भएको हो । 

सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको आयोजनामा धनगढी रंगशालामा भएको प्रतियोगिताको यअसघि, एक समारोहकाबीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे । सो क्रममा उनले खेल र खेलकुद क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना हुन आवश्यक रहेको बताए । उनले खेलकुदले मानिसलाई अनुशासित, स्वस्थ राख्न पनि मदत गरेको बताए । यसैगरी, प्रदेशलाई विश्वभरी पहिचान गराउन पनि खेलकुद क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए । 

आयोजक क्लबले मुख्यमन्त्री शाहलाई २ बुँदे ज्ञापनपत्र हष्तान्तरण गरेको थियो । प्रदेश सरकारले रातो किताबमा बजेट विनियोजन गरी प्रतियोगितालाई दीर्घकालीन रूपमा सञ्चालन गर्नमा सहयोग गर्नुपर्ने माग राखेको छ । यसैगरी, क्षेत्रीय रंगशाला धनगढीमा रात्रीकालिन खेल प्रतियोगिता सञ्चालन गर्न आधुनिक लाइट जडान गर्नुपर्ने क्लबको माग रहेको थियो ।

यस्तै, सयौँ पटक रक्तदान गरेका दीपक उपाध्याय नेपाल र पूर्नवासका फिलीप तामाङलाई समाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरिएको थियो । प्रतियोगितामा ‘ए’ डिभिजन ६ टिम, दुई विदेशी टिम, मोफसलको एक र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । 

प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।  विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार र म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी  दिएको छ । सुदूरपश्चिममा प्रतियोगिता २०७३ सालदेखि आयोजना हुँदै आएको छ ।