मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपः साविक विजेता मनाङ मस्याङ्दी क्लब सेमिफाईनलमा
2023/03/27, 6:22
 
साबिक विजेता मनाङ खप्तड

मनाङ मस्याङ्दी क्लब धनगढीमा जारी छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनल पुगेको छ । धनगढी रङ्गशालामा आज भएको खेलमा बागमति युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै  साविक विजेता मनाङ सेमिफाईनल पुगेको हो । फाईनल प्रवेशका लागि मनाङले एभिनर फुटबल क्लब क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ ।

निकै प्रतिस्पर्धात्मक खेलको ३७ औ मिनेटमा कोफी टिमुठीले गोल गर्दै मनाङलाई अग्रता दिलाए । त्यसको ४ मिनेटपछि बागमतिका लागि श्रीजन गौतमले गोल गर्दै खेल बराबरीमा पुराए । पहिलो हाफमा १–१ बराबरी पछि दोस्रो हाफमा मनाङले अर्को गोल थप्यो । खेलको ६७ औं मिनेटमा सयुडी जमलले गोल गरे । त्यसपछि कुनै पनि टीमबाट गोल हुन नसकेपछि मनाङले २–१ को नतिजालाई आत्मसात गर्दै अन्तिम चारमा स्थान सुरक्षित बनायो । मनाङका गोलरक्षक जियारत सेख खेलको म्याच अफ द म्याच भए । 

प्रतियोगिता अन्तर्गत भोली अन्तिम क्वाटरफाईनलमा नेपाल पुलिस क्लब र आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी  दिएको छ । चैत्र १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।