साविक विजेता मनाङलाई हराउँदै थ्री स्टार च्याम्पियन
2023/04/01, 8:03
 
ss

थ्री स्टार क्लबले छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा आज भएको फाइनलमा ए डिभिजन प्रतिद्वन्दी साविक विजेता मनाङ मस्याङ्दी क्लबलाई २–० गोल अन्तरले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो । तेस्रो पटक फाईनल पुगेको थ्री स्टार पहिलो पटक खप्तड गोल्डकपको च्याम्पियन बनेको हो । मनाङ भने तेस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्नबाट बन्चित भएको छ । 

थ्री स्टारको जितमा अनिल महर्जन र कप्तान बिक्रम लामाले एक एक गोल गरे । अनिलले खेलको ७३ औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए  । त्यसपछि खेलको इन्जुरी समयको पाचौं मनेटमा कप्तान बिक्रमले गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए । उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी थ्रीस्टार क्लबका कप्तान विक्रम लामा भए । उनले नगद एक लाख प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक थ्रीस्टारका मोहमद ताहा, उत्कृष्ट रक्षक थ्रीस्टारकै पिटर सेगुन, उत्कृष्ट मिडफिल्डर मनाङका विसोन गुरुङ, सर्वाधिक गोलकर्ता मनाङकै सायी जमल, उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी र उदयमान खेलाडी सुदुरपश्चिम ११ का दिपेन्द्र मलासी भए । उनीहरुले जनही नगद १५ हजार रुपैयाँ प्राप्त गरे । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताको विजेतालाई प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा लगायतले पुरस्कृत गर्नुभयो । 

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा गत चैत ९ गतेदेखि सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका ६ टिम, दुई विदेशी टिम, मोससलको एक क्लब र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको थियो ।