‘जगशक्ती गोल्ड टिएमटी’ तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप सुरू : आयोजक क्वाटर फाइनलमा
2023/04/04, 7:22
 
जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप सुरू : आयोजक क्वाटर फाइनलमा

कैलाली - कैलालीको गौरीगङ्गा नगरपालिकामा मङ्गलवारदेखि जगशक्ती गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप २०७९ सुरु भएको छ । मङ्गलवार भएको उद्घाटन खेलमा डोटीलाई ३–१ ले पराजित गर्दै आयोजक गौरीगङ्गा–११ स्पोर्ट्स क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

पुनरागमन जित निकाल्दै आयोजक क्वाटर फाइनलमा पुग्न सफल भएको हो । खेलको ११ औँ मिनेटमा डोटीका १२ नम्बर जर्सीका खेलाडी हेरी सिंहले गोल गर्दै अग्रता बनाएका थिए । ४० औँ मिनेटमा आयोजकका तर्फबाट जर्सी नम्बर १४ का गणेश लुहारले गोल गर्दा पहिलो हाफको खेल बराबरीमा सकियो । दोस्रो हाफमा खेलको ७६ औँ मिनेटमा डी बक्स भित्र गौरीगङ्गाका खेलाडीमाथि फल भएपछि पेनाल्टी पाएको उसले दिनेश थापाले पेनाल्टी गोल मार्फत खेललाई खेल २–१ को अवस्थामा पुगायो । खेलको ८१ औँ मिनेटमा आयोजकका जनक साउदले गोल गर्दै टिमलाई सहज जित दिलाए । खेलको प्लेयर अफ दी म्याच पनि उनी नै चुनिए । 

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको आजै सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले समुद्घाटन गरेका थिए ।

प्रदेश प्रमुख जोशीले खेलकुद क्षेत्र व्यावसायिक बन्न नसकेको बताए । उनले भने –‘खेलकुदप्रति युवाहरूको आकर्षण बढ्दै गएको छ । तर, व्यावसायिक नबन्दा खेलाडीहरूलाई जीविकोपार्जन गर्न समस्या भएको छ ।’ उनले राज्यलेनै खेलकुदलाई अतिरिक्त क्रियाकलापका रूपमा लिएको बताए । उनले खेलकुदको विकासका लागि हरेक वर्ष विभिन्न प्रतियोगिता हुन आवश्यक रहेको बताए । उनले भने –‘प्रतियोगिताले खेलाडीको विकास गर्नुका साथै खेलले शारीरिक तन्दुरुस्ती, अनुशासित बनाउन मद्दत गर्छ ।’

सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बमले खेलाडी लगनशील, अनुशासित नभएसम्म खेलकुदको विकास सम्भव नभएको बताए । उनले खेलकुद भनेको पहिचान रहेको बताए । उनले भने –‘खेलकुदबाटै कुनै क्षेत्र, स्थान तथा राष्ट्रको पहिचान दिइरहेको छ । यो पहिचानको कडी हो ।’

प्रदेश सभा सदस्य जानकी कुँवरले खेलमैदानको स्तरोन्नतिसँगै यस निर्वाचन क्षत्रका आवश्यकता के हुन् रु स्थानीयका मागका आधारमा विकासको पहल गरिने बताइन । गौरीगङ्गा ११ स्पोर्ट्स क्लबले थालनी गरेको यो अभियान सफल पार्न सम्पूर्ण सहयोग रहने कुँवरको भनाइ छ । 

चैत ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक गौरीगङ्गा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टिमको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ लाई ट्रफी सहित नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपको भव्य उद्घाटन, खेल क्षेत्र व्यावसायिक बन्नुपर्नेमा प्रदेश प्रमुखको जोड  प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जगशक्ती गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सिराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।