‘जगशक्ती गोल्ड टिएमटी’ गौरीगङ्गा गोल्ड कप : आज बाजुरा र नेपाल पुलिस भिड्ने 
2023/04/06, 8:25
 
‘जगशक्ती गोल्ड टिएमटी’ गौरीगङ्गा गोल्ड कप : आज बाजुरा र नेपाल पुलिस भिड्ने 

कैलाली - कैलालीको गौरीगङ्गामा जारी जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्ड कपमा आज बाजुराको रानीवन क्लब र नेपाल पुलिस प्रतिस्पर्धा गर्ने भएका छन् । विजेता टिम क्वाटर फाइनलमा प्रवेश गर्ने छ । चैत्र २१ गतेबाट सुरु भएको प्रतियोगिता चैत्र ३० गते समापन हुने छ । 

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ । आयोजक गौरीगङ्गा–११ सँगै कैलाली, कञ्चनपुर, डोटी, बाजुरा, बाँके, बर्दिया, नवलपरासी जिल्लाका टिमहरूका साथै नेपाल पुलिस र सशस्त्र प्रहरी बलको टिमको गरी १० टिको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सिराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।