कैलालीको टीकापुरमा साहित्य महोत्सव हुने
2023/04/07, 11:35
 
ss

कैलाली जिल्लामा साहित्यिक महोत्सव हुने भएको छ। जिल्लाको टीकापुर साहित्य समाजको आयोजनामा महोत्सव हुन लागेको हो। टीकापुर साहित्य समाजले चैत २५ गतेदेखि सुरु हुने टीकापुर साहित्यिक महोत्सवमा प्रदान गरिने तीन वटा पुरस्कारको समेत  घोषणा गरेको छ।

टीकापुर साहित्य समाजका अध्यक्ष तथा साहित्यकार महेशविक्रम शाहले विहीबार पत्रकार सम्मेलन मार्फत उक्त घोषणा गरेका हुन।समाजले एक लाख राशीको खड्गस्मृति राष्ट्रिय गौरव पुरस्कार २०७८ थोमस वर्गिज र मेरी वर्गिजलाई अर्पण गर्ने जानकारी गराएको छ। टीकापुर शहरका परिकल्पनाकार तत्कालीन मन्त्री स्वर्गीय खड्गबहादुर सिंहको सम्झानामा स्थापना भएको सो पुरस्कार वर्गिज दम्पतीले टीकापुरमा आवासीय विद्यालय हाल वीरेन्द्र विद्यामन्दिर मावि स्थापना गरी लामो समय यहाँका नागरिकका सन्ततिलाई शिक्षा दिने काममा योगदान गरे वापत दिइन लागेको हो। वर्गिजले नेपालका विभिन्न ठाउँमा विद्यालय खोलेर अङ्ग्रेजी माध्यमको पढाइ विस्तार गरेका छन्।

यस्तै, ५० हजार राशीको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार गायिका अनु चौधरीलाई प्रदान गरिने भएको छ। सुदूरपश्चिमका प्रतिभालाई प्रदान गरिने यो पुरस्कार युवा अवस्थामै नेपाली, खस र थारु भाषामा लोकप्रिय गीतहरु गाएर भाषा र कलाको उन्नयन र प्रवर्धनमा साधनारत चौधरीलाई प्रदान गरिन लागेको आयोजकले जनाएको छ।

२५ हजार राशीको टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार टीकापुरका उच्च माविका सर्वोत्कृष्ट नतिजा ल्याएका गणेशबाबा बोर्डिङ स्कुलका छात्र प्रवेश रावललाई प्रदान गर्ने निर्णय गरेको छ। २०७८ माघ २४ गते स्थापना भएको टीकापुर साहित्य समाजले ‘साहित्य मार्फत सामाजिक सदभाव’ उद्देश्य राखेर चैत २५ देखि २७ गतेसम्म टीकापुरमा साहित्य महोत्सव आयोजना गर्दैछ।