गौरीगङ्गा गोल्ड कप : नवलपरासी र बाजुरा भिड्दै, विजेता अन्तिम चारमा पुग्ने 
2023/04/09, 10:51
 
गौरीगङ्गा गोल्ड कप : नवलपरासी र बाजुरा भिड्दै, विजेता अन्तिम चारमा पुग्ने 

कैलाली - कैलालीको गौरीगङ्गामा जारी ‘जगशक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ को आज सेमिफाइनल समीकरण पुरा हुने छ । दिउसो पौने ३ बजे गौरीगङ्गा–११ स्पोर्ट्स क्लबको खेल मैदानमा हुने प्रतिस्पर्धामा आज बाजुराको रानीवन क्लब र नवलपरासीको फोर ब्रदर्श एफसी आमनेसामने हुनेछन् । विजेता टोली सेमिफाइनल प्रवेश गर्ने छ । 

कैलालीको स्टार सिटी युवा क्लब, बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब र बाँकेको रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनल पुगिसेका छन् । भोलि सोमबार फाइनल प्रवेशका लागि स्टार सिटी र रेसिङ सहाराको प्रतिस्पर्धा हुने छ । आजको विजेताले मङ्गलवार फाइनल प्रवेशका लागि बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लबको सामना गर्ने छ । ३० गते बिहीबार प्रतियोगिताको फाइनल खेल हुने छ । 

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गते समापन हुने छ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सनराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।