सुदूरपश्चिम हकी प्रतियोगिताको सेमिफाइनलमा
2023/04/09, 11:58
 
ss

चौथो राष्ट्रिय पुरुष हकी प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोली आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन् । गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सञ्चालन भइरहेको हकीको शनिबार लिग चरणका सबै खेलपछि समीकरण पूरा भएको हो । समूह ‘ए’मा त्रिभुवन आर्मी शीर्ष र नेपाल पुलिस दोस्रो भएका छन् ।

समूह ‘बी’मा सुदूरपश्चिम समूह विजेता र मधेस उपविजेता बने । प्रतियोगिताको आइतबार पहिलो सेमिफाइनलमा आर्मीले मधेसको सामना गर्नेछ । अर्को खेल सुदूरपश्चिम र पुलिस क्लबबीच हुनेछ । विराटनगरको सहिद रंगशालामा सुदूरपश्चिमले मधेसलाई ५–३ ले हरायो । सुदूरपश्चिमका दीपकराज जोशीले दुई गोल गरेका थिए । मधेसका विशाल क्षेत्री र रूपक दाहालले एक–एक गोल गरे ।

खेलमा म्यान अफ दी म्याच सुदूरपश्चिमका महेश नेपाली भए । अर्को खेलमा गण्डकी र कर्णालीबीच २–२ को बराबरी भयो । बराबरी नतिजासँगै दुवै टोली प्रतियोगिताबाट बाहिरिए । नेपालमा पहिलोपटक रात्रिकालीन हकी खेल शुक्रबार राति भयो । प्रतियोगिताका संयोजक तथा पूर्वअन्तर्राष्ट्रिय खेलाडी रन्जन थापाले नेपालमा हकीलाई रात्रिकालीन बनाउन सकिने आधार तयार भएको बताएका छन् ।