कैलाली - नवलपरासीको फोर ब्रदर्श फुटबल क्लबले गौरीगंगा गोल्डकपको अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । आइतबार बाजुरोको रानीवन फुटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गरी फोर ब्रदर्श एफसी सेमिफाइनल पुग्ने चौथो टोली बनेको हो । ‘जगशक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ मा कैलालीको स्टार सिटी युवा क्लब, बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब र बाँकेको रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनल पुगिसेका छन् ।
आइतबारको खेलमा फोर ब्रदर्शका कप्तान विनोद केवटले २ गोल गरे । खेलको ४२ औँ मिनेटमा उनको गोल मार्फत फोर ब्रदर्शले अग्रता बनाउँदा पहिलो हाफको खेल १–० मा सकियो । ८४ औँ मिनेटमा केवटकै गोल मार्फत फोर ब्रदर्शले अग्रता दोब्बर बनायो । त्यसको ३ मिनेट पछि खेलको ८७ औँ मिनेटमा रानीवनका अभिषेक यादव आत्मघाती गोल गर्न पुगे । निर्धारित ९० मिनेटमा ३–० ले अघि रहेको फोर ब्रदर्शका लागि सुमित मल्ले थपिएको समयमा १ गोल गरेपछि उसले प्रतियोगितामा सहज जित निकालेर अन्तिम चारमा स्थान पक्का गरेको हो ।
अब फाइनल प्रवेशका लागि फोर ब्रदर्शले मङ्गलवार बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लबको सामना गर्ने छ । त्यस अघि पहिलो सेमिफाइनलमा सोमबार कैलालीको स्टार सिटी र कोहलपुर रेसिङ सहारा क्लब बाँकेको प्रतिस्पर्धा हुने छ ।
‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गते समापन हुने छ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सनराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।