गौरीगंगा गोल्डकप : पहिलो सेमिफाइनलमा आज स्टार सिटी र रेसिङ सहारा भिड्दै 
2023/04/10, 8:40
 
गौरीगंगा गोल्डकप : पहिलो सेमिफाइनलमा आज स्टार सिटी र रेसिङ सहारा भिड्दै 

कैलाली - कैलालीको गौरीगङ्गामा जारी ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप’ मा आजदेखि सेमिफाइनलका खेल हुँदै छन् । पहिलो सेमिफाइनलमा आज कैलालीको स्टार सिटी युवा क्लब र कोहलपुर रेसिङ सहारा क्लब बाँके भिड्ने भएका छन् । दिउसो पोने तीन बजे गौरीगंगा–११ स्पोर्ट्स क्लबको खेल मैदानमा सुरु हुने खेलको विजेता फाइनलमा स्थान सुरक्षित गर्ने छ । 

रेसिङ सहाराले एपीएफलाई पराजित गरी र स्टार सिटीले आयोजक गौरीगंगा–११ लाई पराजित गरी सेमिफाइनलमा स्थान बनाएका थिए । 

दोस्रो सेमिफाइनलमा भोलि बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब र नवलपरासीको फोर ब्रदर्श एफसी प्रतिस्पर्धा गर्ने छन् । फाइन खेल ३० गते बिहीबार हुने छ । 

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गते समापन हुने छ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सनराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।