नवलपरासीको फोर ब्रदर्श गौरीगंगा गोल्डकपको फाइनलमा, उपाधिका लागि स्टार सिटीसँग भिड्ने 
2023/04/11, 7:08
 
नवलपरासीको फोर ब्रदर्श गौरीगंगा गोल्डकपको फाइनलमा, उपाधिका लागि स्टार सिटीसँग भिड्ने 

कैलाली - नवलपरासीको फोर ब्रदर्श एफसी कैलालीको गौरीगङ्गामा जारी तेस्रो सुदूरपश्चिम गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनल खेलमा मङ्गलवार बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लबलाई ४–१ गोल अन्तरले पराजित गरी फोर ब्रदर्श उपाधि नजिक पुगेको हो । 

गौरीगंगा–११ स्पोर्ट्स क्लबको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा नवलपरासीका लागि कप्तान विनोद केवटले व्यक्तिगत दुई र हरि कठायतले १ गोल गरे । खेल सुरु भएको ५ मिनेटमै हरि कठायतको गोल मार्फत फोर ब्रदर्शले अग्रता लिएको थियो । २० औँ मिनेटमा कप्तान विनोद केवटले १ गोल थप्दा फोर ब्रदर्श २–० को अग्रतामा पुग्यो । पहिलो हाफको २५ औँ मिनेटमा बर्दियाका तर्फबाट फागुराम थारुले १ गोल फर्काए । त्यसको १५ मिनेटपछि खेलको ४० औँ मिनेटमा बर्दियाका सुजन गुरुङले आत्मघाती गोल गर्दा पहिलो हाफको खेल ३–१ को अग्रतामा सकियो । दोस्रो हाफको २० औँ मिनेटमा कप्तान विनोद केवटले फोर ब्रदर्शलाई थप १ गोलको योगदान दिँदै सहज जित दिलाए । उनी म्यान अफ दी म्याच पनि चुनिए । 

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गते समापन हुने छ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा ईन्टरप्राईजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सनराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।