वर्तमान सरकारका पुर्ण रुपमा असफलः डाक्टर रावल (भिडियो सहित)
2020/07/03, 1:52
 
birod

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डाक्टर रणबहादुर रावलले वर्तमान सरकारका सम्पूर्ण कार्य असफल भएको बताएका छन । मुक्तीका लागि साझा अभियान सुदूरपश्चिम प्रदेशले जिल्ला प्रशासन कार्यालय कैलालीको मुख्य प्रवेशद्धारमा दिएको सडक धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै सो बताएका हुन । प्रमुख अतिथि रहेका डाक्टर रावलले अहिलेको सरकार जनताका कार्य भन्दा आफ्नो स्वार्थ र फाइदाको लिप्ततामा लागेको आरोप लगाए। संविधान निर्माण गर्ने र बनाउने नेताबाट नै ऐन, नियमको उल्लंघन भएको उनले बताए । उनले रुकुम चौरजहारीमा भएको घटनाका लागि आफु र आफ्नो पार्टीको साथ समर्थन रहेको प्रतिवद्धता व्यक्त गरे । 

विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले जातिय र छुवाछुतको अन्त्यका लागि आफ्नो घरबाट सुरुवात गर्नुपर्ने बताए । उनले भाषण गरेर मात्र नहुने भएकाले छुवाछुतका नाममा भएको आडम्वरलाई बाहिर ल्याएर घरबाट सुरुवात गर्न आग्रह गरे । मुक्तिका लागि साझा अभियानले रुकुम चौरजहारीको घटना लगायत देशभर भएका जातिय हत्या एवम् विभेदकारी विरुद्ध आन्दोलनका कार्यक्रम गर्दै आईरहेको छ ।

यस अघि पनि धनगढीमा चौरजहारी घटनाका विरुद्धमा मोटरसाइकल र्याली, विरोध प्रदर्शन गर्दै आईरहेको छ। साझा अभियानले मानव सेवा कार्य अन्तर्गत त्रिनगर उच्च माविको क्वारेन्टिनमा रहेको २ सय जनालाई एक हप्तासम्म खाना खुवाउन सहयोग गरेको थियो । मुक्तिका लागि साझा अभियानका संयोजक प्रेम विसीको सभापतित्वमा सम्पन्न भएको सडक धर्ना कार्यक्रममा स्वागत मन्तव्य परिवार दलका सुदूरपश्चिम संयोजक खडक नागरिकले गरेका थिए ।

कार्यक्रममा महिला मानव अधिकार सञ्जालकी केन्द्रीय सदस्य निर्मला बागचन, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष छत्र टेलर, सुदूरपश्चिम प्रदेश सभा सदस्य टेकबहादुर रैका, जनता पार्टी समाजका गयाप्रसाद कुश्मी, तरुण दलका केन्द्रीय प्रतिनिधि तथा युवा नेता अमृत विसी, मुस्लिम समाजकी मायानिगार अन्सारी लगायतको उपस्थिति रहेको थियो ।