
दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा भारात्तोलन र जुडोका खेलाडीहरु छनोट भएका छन् । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजनामा भईरहेको छनोट प्रतियोगितामा आज विभिन्न खेलहरुका प्रतियोगिताहरु भएपनि जुडो र भारात्तोलनका खेलाडीहरु छनोट गरिएका छन् । जुडोबाट दशौं राष्ट्रिय खेलकुदका छनोट भएका खेलाडीहरुमा पुरुष र महिला खेलाडी प्रतियोगिताहरुमा प्रथम हुदैं छनोट भएका छन् ।

जुडोमा पुरुष तर्फ ६० किलोमा कैलालीका चन्द्रवहादुर बोहोरा, ६६ किलोमा कैलालीकै चेतेन्द्र बम, ७३ किलोमा कैलालीकै हरि गोविन्द जोशी, ८१ किलोमा कैलालीका योगन्द्र बिष्ट, ९० किलोमा कञ्चनपुरका सुरेश गिरी, एक सय किलोमा कैलालीका रमेश चन्द र एक सयभन्दा बढी किलोमा कैलालीका चन्द्रप्रसाद चौधरी छनोट भएका छन् । महिला तर्फ ४८ किलोमा कैलालीकी मीना सिंह, ५२ किलोमा कैलालीकी देवकी थापा, ५७ किलोमा कञ्चनपुरकी रञ्जना चौधरी र ७८ किलोमाथि कञ्चनपुरकी नेहा नेपाली छनोट भएका छन् ।
भारात्तोलन तर्फ पुरुषमा ५५ किलोमा सिद्धार्थ चौधरी, ६१ किलोमा कञ्चनपुरका दिनेश घटाल, ६७ किलोमा कैलालीका सुदीप चौधरी, ७३ किलोमा कञ्चनपुरका अशोक सिंह भण्डारी, ८१ किलोमा कैलालीका नरेश चौधरी, ८९ किलोमा कञ्चनपुरका आरयन भण्डारी, ९६ किलोमा कञ्चनपुरकै प्रदीप भण्डारी, एक सय २ किलोमा कञ्चनपुरका विजय जोशी, एक सय ९ किलोमाथि कञ्चनपुरकै सुभाष उपाध्याय रहेका छन् । भारात्तोलन महिला तर्फ ४५ किलोमा कैलालीकी सविना चौधरी, ५५ किलोमा कैलालीकी सुनिता चौधरी, ६४ किलोमा कैलालीकी अंकिता चौधरी, ७६ किलोमा कञ्चनपुरकी चम्पा ठकुल्ला, ८१ ीकलोमा कैलालीकी सानम चौधरी दशौं राष्ट्रियका लागि छनोट भएकी छिन ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ७ सय ७८ जना खेलाडीले सहभागिता जनाउने छन् । ४५० जना निर्णायकहरू पनि सहभागी हुनेछन् । दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको छनोट प्रतियोगितामा प्रदेशका २ हजार ८०० खेलाडी सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेश सरकारले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलमा सहभागिता जनाउने भएको छ । त्यसका लागि प्रदेश छनोट प्रतियोगितामा महिला र पुरूष गरी ३१ खेल भईरहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले जानकारी दिए ।
छनोट प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगिताका खेलहरू कैलाली र कञ्चनपुरमा हुने छ । कैलालीको धनगढीमा फुटबल, भलिबल, एथलेक्टिस, क्रिकेट, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, खो–खो, उसु लगायत खेलहरु भईरहेछन् । त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरमा कबड्डी, कुस्ती लगायतका खेलहरु भईरहेका छन । प्रदेश छनोट प्रतियोगितामा प्रथम मेडल ३३२, द्वितीय मेडल ३२०, तृतीय मेडल ४५६ गरी १ हजार १९८ वटा मेडल रहेको छ ।
